ओडिसामा उत्पन्न समस्या समाधान समाधान भयो : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडियास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा उत्पन्न समस्या समाधान भएको बताएकी छन्।
प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् ।
आफूले बुधबार ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका लागि आग्रह गरेको उनले बताइन्।
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी काबराहीको माग नेपालले गरेको छ।
घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको उनले बताइन्।
नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर सबैको तथ्यांक परराष्ट्रसँग नरहेकाले आगामी दिनमा यस्तो तथ्यांक परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिएमा उनीहरूको उद्धारका लागि सजिलो हुने पनि उनले बताइन्।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार
















