सामुदायिक वनका सात सय ८० उपभोक्तालाई सौर्यबत्ती


 


झापा, फागुन १९

झापाको कनकाई नगरपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना सबै उपभोक्तालाई सौर्य वत्ती वितरण गरेको छ । अनियमित रुपमा हुने विद्युतभार कटौतीका कारण अन्धकारमा बस्नु परेको भन्दै कनकाई नगरपालिका वडा नं १ र २ मा रहेको जामुनबारी सामुदायिक वनले आफ्ना सबै उपभोक्ताका घरमा सौर्य बत्ती वितरण गरेको हो ।

७ सय ८० उपभोक्ता रहेको जामुनबारी सामुदायिक वनले तीन सय घरमा निःशुल्क, १ सय ५० घरमा ५० प्रतिशत छुट र बाँकी घरमा आफ्नै लगानीमा सौर्य बत्ती जडान गरिएको वनका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए ।

गिरीका अनुसार मध्यम, निम्न, अतिनिम्न र सुकुम्बासी भनेर चार वर्गमा विभाजन गरेर अनुदान दिइएको छ । दुईवटा बत्ती भएकालाई निःशुल्क, चार भएकालाई ५० प्रतिशत छुट र चारभन्दा माथि बत्ती प्रयोग गर्नेलाई शुल्क लिएर सौर्य बत्ती जडान गरिएको छ ।

सबै उपभोक्ताले एकै साथ सौर्यबत्तीको प्रयोग गरेर नमुना प्रस्तुत गरेको गिरीको भनाइ छ । विसं २०५२ मा स्थापना भएको जामुनबारी सामुदायिक वन अहिले जामुन खाडी नामले परिचित रहेको छ ।

रु २२ लाख खर्च गरेर सबैको घरमा सौर्य बत्ती जडान गरिएको अध्यक्ष गिरीले बताए । चार सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको वनको संरक्षण गर्दै वनको विविधताको पनि संरक्षण गर्न सफल भएको गिरीको भनाइ छ ।
सामुदायिक वनको ३४ हेक्टर क्षेत्रफलमा निर्माण गरिएको जामुनखाडी सिमसार क्षेत्रमा नै वन्यजन्तुको संरक्षण तथा वनभोजस्थलसमेत रहेका छन् । जामुनखाडी सिमसार क्षेत्रमा यो वर्ष तीन लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष गिरीले बताए ।

उनका अनुसार वन क्षेत्रबाट भएको आम्दानीले वनको उपभोक्ताको जीवनस्तर उकास्नमा नै खर्च गरिनेछ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्