माओवादीको कार्यक्रमका लागि विद्यालय बन्द
विराटनगर, फागुन १३ । नेकपा (माओवादी केन्द्र) ले आयोजना गर्ने ‘खबरदारी सभा’ का लागि मोरङको कानेपोखरीका केही विद्यालय बन्द गराइएका छन् ।
तराई–मधेश जागरण अभियान झापाको कचनकवलबाट सोमबार सुरु भएको कार्यक्रम मंगलबार कार्यक्रम मोरङको कानेपोखरीमा मंगलबार राखिएको छ ।
त्यही कार्यक्रमका लागि ४ वटा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको बताइएको छ । माओवादी केन्द्र कानेपोखरीले विद्यालयलाई पत्र पठाएर पठनपाठन बन्द गर्न भनेको हो ।
कानेपोखरी–६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्तर्गतको खबरदारी सभा कार्यक्रमका लागि पठनपाठन बन्द गर्न भनेर माओवादीले ४ वटा विद्यालयलाई पत्र पठाएको छ ।
माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेको हो । तीमध्ये पर्ल एकेडेमी र जेनिथ इङ्लिस स्कुलले आज एक दिन बिदा दिएका छन् ।
पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले फागुन ८ गतेको मितिमा विद्यालयहरुलाई पठाएको पत्रमा ‘गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री देव गुरुङलगायतका नेताहरुको उपस्थितिमा बृहत् जनसभा कार्यक्रम आयोजना गरिएकाले सो दिन विद्यालय बन्द गरिदिन’ भनिएको छ ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















