बजेट किल, सधै निल


 


एसएलसीमा भोजपुरको अवस्था

ध्रुव सुवेदी
भोजपुर, असार ९
गत शुक्रबार ०७१ सालको प्रवेशिका परीक्षाको प्रकाशित नतिजा अनुसार पूर्वि पहाडी जिल्ला भोजपुरको उर्तिण प्रतिशत १७.९९ प्रतिशत रह्यो । यो प्रतिशत संख्या पुर्वाञ्चलको १५ औं स्थान हो । पुर्वाञ्चलमा सबैभन्दा कम खोटाङमा विद्यार्थी उत्र्तिण भए भने भोजपुर खोटाङपछि दोस्रोमा छ ।

विगत बर्षको तुलनामा यो बर्ष भोजपुरमा पाँच प्रतिशत नतिजा बढेको देखिए पनि सारमा भने यो सन्तोषजनक छैन् । यो बर्षदेखी एसएलसी ग्रेडिङ प्रणालीमा जाने भएपछि भोजपुरमा गत चैत्रमा भएको परीक्षामा विद्यार्थीहरुले मनमौजी ढंगले चिट चोर्न पाएका थिए ।

जसमा सरकारी अधिकारी रमिते बनेका थिए । र, उनिहरु यो बर्ष भोजपुरमा नतिजा बढ्ने अड्कलबाजी गरेर रमाउँथे । सरकारी अधिकारीहरुको अड्कलबाजी त केही प्रतिशत बढेको नतिजाले पुरा भएको छ, तर सारमा भने विगतका बर्षहरुमा भन्दा यो बर्ष भोजपुरको नतिजा कमजोर देखाएको छ ।

विगतका चार बर्षको नतिजालाई आधार मानेर हेर्ने हो भने उर्तिण प्रतिशत संख्या केही बढी नै देखिन्छ । यसबिचमा अपवादबाहेक उर्तिण संख्या बढ्नुमा सामुदायिक विद्यालयले कुनै सुधारको काम भने गरेका छैनन् ।

यो बर्षको नतिजा बढ्नुमा एकमात्रै कारण भनेको परीक्षा प्रणाली खुकुलो बन्नु थियो । सधै पूर्वाञ्चलमा सबैभन्दा कम र राष्ट्रिय तथ्यांकमा ७१ देखी ७४ औ स्थान भोजपुरको सुरक्षित हुन थालेपछि नतिजा कसरी सुधार्ने ? भनेर आयोजना गरिने गोष्ठि, सेमिनारमा विद्यालयका हेड मास्टरहरुको एउटै सुझाव हुन्थ्यो, परीक्षा प्रणाली भोजपुरमा कडाई भयो ।

अन्यत्र जिल्लामा खुलमखुल्ला चिट चोर्न विद्यार्थीहरुले पाएका छन्, नतिजा पनि बढी छ, एक पछि अर्का बर्ष ओरालो लागेको नतिजाले इंकित गर्दे हेडमास्टरहरु भन्थे भोजपुरमा मात्र कडाई गरेर केही हुन्न ।
हो, यो बर्ष परीक्षा खुल्ला भयो, प्रतिशत बढ्यो तर आशातित नतिजा भने आएन् । बरु शून्य नतिजा ल्याउने स्कुलको संख्या बढेर चार बर्ष यताकै इतिहास कायम भयो ।

करोडौ रुपैयाँ गाउँमा जाने सामुदायिक विद्यालयको बजेट सकियो, नतिजा भने सधै भरी शून्यमा नै कायम रह्यो । ०६८ को नतिजामा भोजपुरका छ सामुदायिक विद्यालयले नील खाएका थिए । अहिले यो संख्या बढेर ठिक डबल १२ पुगेको छ । यो संख्या बर्षेनी बढीरहेको छ । ०६९ मा, आठ, ०७० मा ११ विद्यालयले नील खाएका थिए भने, यो बर्ष एक थपिएर १२ पुगेको हो ।
कारण
विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिएको एसएलसीको नतिजा सुधार गर्न विभिन्न तहमा छलपपल, गोष्ठी भएपनि त्यो छलफल र गोष्ठीमा नै सिमित हुने गरेको छ । शिक्षामा बर्षेनी राज्यले लगानी बढाउने गरेको छ ।

तर प्रतिफल भने सधै ओरालो लाग्न थालेको छ । आखिन किन ? जिल्ला शिक्षा कार्यालय भोजपुरका शाखा अधिकृत रेवती पराजुली भन्छन् अव्यावहारिक शिक्षा नीति, पुरानै पाठयक्रम, पाठयपुस्तक अभाव, शिक्षकहरुको समर्पण नहुनु, प्रस्तावित मावि तहमा योग्य शिक्षकको अभाव, राजनीतिक हस्तक्षेप, अस्थिरता, बिद्यार्थी र अभिभावकको कम चासो, कमजोर प्रशासनिक तथा शैक्षिक व्यवस्थापन, शिक्षक दरबन्दी अभाव जस्ता मुख्य कारक हुन ।
बिद्यालयहरुमा राजनीतिकरण हाबी हुनु शिक्षक धेरै पेशामा लाग्नुले पनि एसएलसी नतिजा ओरालो लाग्नुमा सघाउ पुर्याएको छ । विद्यालय क्षेत्रमा राजनीति हाबि हुनुमा सरकारी रवैया पनि काफी छ ।

लामो समयदेखी स्थानीय निकायमको निर्वाचन हुन नसक्दा राजनीति गर्न मन भएका तर ठाउँ नपाएकाहरुले विद्यालयलाई राजनीति गर्ने थलो बनाएको नागरिक समाज भोजपुरका सह संयोजक नेत्रविनोद लुइँटेलको धारणा छ । साथै शिक्षकहरु राजनीतिक दलका जिम्मेवार नेता कार्यकर्ता बनिदिदा यस्को मार विद्यार्थीले खेप्न बाध्य छन् ।

बहुरुपी शिक्षकका कारण विद्यार्थीहरुको पठनपाठन विग्रेको शिक्षा क्षेत्रका अधिकारीहरुको भनाई छ । नतिजा कमजोर हुनुमा पठनपाठन तल्लो तहदेखी नै बिग्रेकाले एसएलसीमा असर देखा परेको हो । विद्यालय तहका कक्षाहरुमा नै विद्यार्थीहरु विषय लागेर पास हुने गरेका छन् जस्को असर एसएलसीमा देखा परेको हो ।
सधै निल खाने विद्यालय
यो बर्ष भोजपुरमा ७२ सामुदायिक विद्यालयबाट दुई हजार सात सय ५२ विद्यार्थी परीक्षामा सामेल थिए । परीक्षामा सहभागिता जनाएका ६० विद्यालयका चार सय ९५ जना विद्यार्थी उत्र्तिण भए भने १२ विद्यालयको नील संगै दुई हजार दुई सय ५७ विद्यार्थी अनुर्तिण भए ।

यसरी नील खानेमा खार्ताम्छा मावि खार्ताम्छा, सूर्याेदय मावि ठुलोदुम्मा, कालिका मावि हेलौछा, पशुपति मावि तिम्मा, पशुपति मावि खावा, कालिका मावि ओख्रे, बेहेरेश्वर मावि मानेभन्ज्याङ्ग, शिक्षा क्षमकन्या मावि बयाङ देवानटार, शिशु शिक्षा मावि सिन्द्राङ, पञ्चकन्या मावि वासिङथर्पु, लक्ष्मी मावि पांचा र प्रजातन्त्र मावि होम्ताङ्ग रहेको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।

यी विद्यालयले विगत बर्षहरुमा पनि नील खाएका छन् । सूर्याेदय मावि ठुलोदुम्मा विगत चार बर्षदेखी लगातार नील खाने एक मात्र विद्यालय हो ।
यो विद्यालयले ०६८, ६९, ७० र यो बर्ष पनि नील खाएको हो । यो बर्ष १२ जना विद्यार्थी परीक्षामा सामेत थिए, कसैले उर्तिण गर्न सकेनन् । कालिका मावि हेलौछाले यो चार बर्षमा तीन पटक नील खाएर ह्याट्रिक नै पुरा गरेको छ ।

उस्ले ०६८, ७० र यो बर्ष शून्य नतिजा ल्याएको हो । कालिका मावि ओख्रेले गत बर्ष र यो बर्ष नील खाएको छ भने विगतको नतिजा पनि सन्तोषजनका छैन् । पशुपति मावि, तिम्मा र खावा पनि पटक–पटक नील खाइरहने विद्यालयको सुचिमा पर्छन् ।

यी विद्यालयले ०६९ र यो बर्ष नील खाएका छन् भने त्यस अगाडी पनि नील खाइरहने विद्यालय हुन् । शिशु शिक्षा मावि सिन्द्राङ, पञ्चकन्या मावि वासिङथर्पु, लक्ष्मी मावि पांचा यी विद्यालयले पनि यो चार बर्षमा दुई पटकको नतिजा शून्य छ । यो बर्ष भोजपुरमा विशिष्ट श्रेणीमा विद्यार्थी नै उर्तिण भएनन् ।

०६७ मा पनि विशिष्ट श्रेणीमा विद्यार्थी पास भएको तथ्यांक छैन् । यो बर्ष नीजि विद्यालयले समेत विशिष्ट श्रेणीमा पास गराउन सकेनन् । भोजपुरमा एक सय ७७ जना प्रथम श्रेणी, तीन सय ११ दोस्रो र सात जना तेस्रो श्रेणीमा उत्र्तिण भएको शिक्षा कार्यालयले जनाएको छ ।
विगतको ओरालो यात्रा
०७० को एसएलसी परीक्षामा सामेल २ हजार आठ सय ५५ विद्यार्थी मध्ये ३ सय ५१ विद्यार्थी उर्तिण भएका थिए । यो १२.२९४ प्रतिशत हो । जसमा दुई जना विशिष्ट श्रेणी, ८४ प्रथम, २ सय ३० द्धितिय र ३५ जना तृतिय श्रेणीमा उर्तिण भएका थिए ।

०६९ को परीक्षामा सामेल २ हजार ९ सय ३१ विद्यार्थी मध्ये ३ सय ८७ विद्यार्थी उर्तिण भएका थिए । यो १३.२ प्रतिशत हो । जतिबेला नौ जना विशिष्ट श्रेणी, १ सय एक प्रथम, २ सय ५३ द्धितिय र २४ जना तृतिय श्रेणीमा उर्तिण भएका थिए ।

०६८ मा १८.७६ प्रतिशत विद्यार्थी उर्तिण भएको जिल्ला शिक्षा कार्यालयको तथ्यांक रहेको छ । त्यतिबेला सात जनाले विशिष्ठ श्रेणीमा पास गरेका थिए । ०६७ मा भोजपुरको उर्तिण दर १९.२६ थियो ।

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्