दिउँसै बत्ती बालेर सरकार खोज्दै शिक्षक
काठमाडौं । शिक्षकहरुले दिउँसै बत्ती बालेर सरकार खोजेका छन् ।
चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुको माग सम्वोधन नभएपछि शिक्षकहरुले दिउँसै बत्ती बालेर सरकार खोजेका हुन् ।
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।
उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।
यसअघि, शिक्षकहरुले कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।
आज उनीहरुले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
















