आइसिसी विश्व क्रिकेट : नेपाल र केन्या भिड्दै


 


काठमाडौं, फागुन २८

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् । नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ ।

जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । त्यसैले पनि शीर्ष चारभित्र आफनो स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ ।

त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।

केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो । त्यहाँ नेपालले विभिन्न टोलीसँग अभ्यास खेल खेलेको थियो ।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्