परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबीच टोकियोमा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ ।
जापान भ्रमणमा रहेकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
उनीहरूका बीचमा नेपाल जापान सम्बन्धको ७० बर्से इतिहासका विविध पक्षहरूमा पनि कुराकानी भयो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै छन् ।
त्यस भेटका अवसरमा मन्त्री डा राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार
















