सिरियाली विद्रोही वार्तामा नबस्ने


 


एजेन्सी, , चैत १

रक्तपातपूर्ण युद्धको अन्त्यका लागि सरकारद्वारा वाचा गरिएका प्रतिबद्धता पूरा नभएको जनाउँदै सिरियाली विद्रोही समूहले आफू काजकिस्तानको राजधानीमा मंगलबार हुने भनिएको तेस्रो चरणको वार्तामा अनुपस्थित हुने जनाएको छ । सिरियाली प्रतिपक्षी (विद्रोही) को प्रतिनिधिमण्डलका प्रवक्ताले सोमबार एएफपीसँगको कुराकानीमा रूस र टर्कीको पहलमा भएको सिरिया शान्ति वार्ता प्रक्रियामा पहलकर्ताले सिरियाली प्रशासनलाई जिम्मेवार भई आउन लगाउने गरी गरेको प्रतिबद्धता पूरा नभएको भन्दै वार्तामा आफ्नो समूह सहभागी नहुने बताए ।

सिरिया युद्धमा सरकार निकट रूस र विद्रोही निकट टर्कीले गरेको पहलअनुसार पहिलो र दोस्रो चरणको वार्ता काजकिस्तानको राजधानी अस्तानामा भएका थिए । सन् २०१६ को डिसेम्बरमा भएको मस्को र इस्तानबुलको पहलअनुसार जनवरी र फेब्रुअरीमा दुई चरणका वार्ता भए पनि दुई समूहबीच धेरै विषयमा समझदारी बन्न बाँकी रहेको विद्रोहीको भनाइ छ । सरकार र सरकार समर्थक मिलिसिया (लडाकु) ले युद्धविरामपछि पनि विस्फोट गराउने काम जारी राखेको उनको भनाइ छ ।

स्थानीय बासिन्दालाई विस्थापित गराउने विद्रोही समर्थकलाई घेराबन्दी गर्ने कार्य सरकार समर्थक लडाकुले जारी राखिरहेको ओथम्यानले आरोप लगाए । विद्रोही समूहले नयाँ वार्तामा सहभागी नहुने कुरा वार्ताका पहलकर्ता समक्ष जानकारी गराइसकेको उनको दाबी छ । सिरियाली अल वाटन दैनिकका अनुसार नयाँ चरणको वार्ताका लागि सरकारी टोली सोमबार अस्ताना पुगिसकेको छ । सरकारी टोलीको नेतृत्व संयुक्त राष्ट्रसंघको उपस्थितिमा जेनेभामा भएको वार्तामा नेतृत्व लिएका बसर अल जफारीले गर्नेछन् ।

सिरियामा जारी युद्धमा ६ वर्षको अन्तरालमा ३ लाख २० हजार सिरियाली नागरिक मरेका छन् । सिरियाली मानवअधिकार समूहले जनाएअनुसार ३ लाख २० हजार मृतकमध्ये १७ हजार ४ सय बालबालिका र ११ हजार महिला रहेका छन् । सरकारी सेना र समर्थक लडाकुका तर्फबाट मृत्युवरण गरेका १ लाख १४ हजार ४ सय ७४ व्यक्ति पनि समावेश भएको बताइएको छ ।

त्यसैगरी ५५ हजार विद्रोही र कुर्दिस लडाकु घाइते भएका छन् । यस अवधिमा अलकायदा आबद्ध सिरियाली अल नुस्रा फ्रन्ट र आइएसका ५६ हजार लडाकुसमेत मारिएका छन् । सिरियामा सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो । रूसले सिरियाली राष्ट्रपति बसर अल असदलाई सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले उनलाई सत्ताच्युत गर्न लागिपरेका छन् ।

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्