पाकिस्तानको एक जेलबाट २०० भन्दा बढी कैदी फरार
काठमाडौँ । पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट २०० भन्दा बढी कैदी फरार भएका छन् । भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका हुन् ।
कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जानकारी दिए ।
जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत छन् ।
घटनापछि प्रान्तीय सरकारको जेल सेवा प्रमुखलाई पदबाट हटाइएको छ।
पाकिस्तानका जेलहरू प्रायः भीडभाड, खराब अवस्था, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका कारण बदनाम छन् । साथै, न्यायिक प्रक्रिया ढिलो हुने भएकाले कैदीहरू लामो समयसम्म थुनामा बस्न बाध्य हुने गरेको बताइएको छ ।
कराचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पका धक्का मापन गरिएको बताइएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार
















