एयर इन्डियाको जहाजमा बमको धम्की, आपतकालीन अवतरण



काठमाडौं । एयर इन्डियाको फ्लाइट एआई ३७९ मा बम विष्फोटको धम्कीपछि आपतकालीन अवतरण गराइएको छ ।

थाइल्याण्डको बुकेटबाट भारतको राजधानी दिल्लीका लागि १५६ यात्रु बोकेर उडेको जहाजमा बमको धम्कीपछि आपतकालीन अवतरण गराइएको हो । धम्कीपछि विमान अण्डमान समुद्र माथि घुमेर पुनः फुकेट विमानस्थलमा अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यात्रुहरूलाई आपतकालीन प्रोटोकल अनुसार विमानबाट सुरक्षितरूपमा बाहिर निकालिएको छ । बमको धम्की लेखिएको नोट भेटिएको थाइ विमानस्थलले जनाएको छ, यद्यपि प्रारम्भिक खोजीमा कुनै विस्फोटक पदार्थ भने फेला परेको छैन ।

नोट भेट्ने यात्रुसँग हाल सोधपुछ भइरहेको बताइएको छ । विमान स्थानीय समय अनुसार बिहान ९ः३० मा उडेको थियो । यो घटना एयर इन्डियाको अर्को विमान भारतको अहमदाबाद शहरमा दुर्घटनाग्रस्त भएको २४ घण्टाभित्रै भएको हो ।

दुर्घटनामा यात्रुहरु, स्थानीय, डाक्टर र होस्टेल भित्र रहेका विद्यार्थीसहित कम्तीमा २९० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्