पोखराबाट सुनका गरगहनासहित दुईजना पक्राउ



पोखरा, असार ८ । पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीबाट सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतको न्यू प्रताप नगर जिटि रोड अमृतसर–१ पन्जाब घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका–१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन् ।

पोखराका विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणका लागि सुन ल्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुटबलतर्फ जाँदै गरेको माईक्रो बसमा सवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले सुनको ढिक्का, सिक्री २९ थान, दानावाला माला १ थान, पथ्थर जडित र हिरा जडित औंठी ५७ थान, कानमा लगाउने जुली ३ सय २४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो माला सहितका पोते १९ थान र झुम्का बरामद भएको छ ।

उनीहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्