अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघ चिन्तित
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाले गएराति इरानका आणविक स्थलमा बम हमला गरेपछि महासचिव गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन् ।
उनले लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु । यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ।’
उनले अगाडि लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ । यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्याउन सक्छ।’
गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन् ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार
















