इजरायल–इरानबीच पूर्ण युद्धविरामको सहमति भएको ट्रम्पको दाबी



काठमाडौं, असार १० । इरानले कतारस्थित अमेरिकी सैनिक क्याम्पमा आक्रमण गरेको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा दुई देशबीच युद्धविराम सहमति भएको घोषणा गरेका हुन् । १२ दिनको युद्ध अन्त्य गर्न मद्दत गर्ने दुवै देशका नेताहरूलाई उनले धन्यवाद समेत दिएका छन् ।

‘यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो,’ उनले लेखेका छन्, ‘मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ । यो संसारको लागि एक महान दिन हो ।’

यद्यपि, इरान र इजरायलले युद्धविरामबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन् । न्यूयोर्क टाइम्सका अनुसार, इजरायली सेनाका प्रवक्ताले युद्धविरामसम्बन्धी ट्रम्पको भनाइमा बोल्न अस्वीकार गरेका छन् ।

ट्रम्पको घोषणाको केही घण्टाअघि इरानले कतारमा रहेको अमेरिकी अल–उदेइद हवाई सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्