गोमालाई पढाउन हानाथाप, सांसद थापापछि भाटभटेनीका अध्यक्ष मीनबहादुर दम्पतीले लिए शैक्षिक यात्राको जिम्मा



काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा श्रम गर्दै अध्ययन गरेर एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठको शैक्षिक यात्राको जिम्मा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले लिने घोषणा गरेका छन्।

गोमाको संघर्षमय जीवन र असाधारण नतिजा सार्वजनिक भएपछि गुरुङ दम्पतीले बिहीबार गोमालाई भाटभटेनी कार्यालयमा सम्मान गर्दै एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरे।

सो अवसरमा अध्यक्ष गुरुङले गोमालाई कक्षा ११ र १२ अध्ययनका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा भर्ना गराइ सम्पूर्ण खर्च बेहोर्ने बताएका छन्।

साथै उनले भविष्यमा एमबीबीएस तहसम्मको शिक्षाको सम्पूर्ण खर्च आफैं व्यहोर्ने प्रतिबद्धता जनाए।

गोमालाई यसअघि भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरिसकेका छन् ।

सांसद थापाले भनेका छन्–‘गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन, पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।’

यद्यपी सांसद थापाले गोमा भने अहिलेसम्म भेटेका छैनन् । सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताएका छन् ।

रामेछापको खनियाँपानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका– ८, सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी थिइन्। उ

नी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन्। गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ। त्यसका लागि उनी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छिन्।

गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्