अमेरिकाले कर बढाए श्रीलंकाको अर्थतन्त्र १.५ प्रतिशतले घट्न सक्नेः आईएमएफ
कोलम्बो, २० असार । अमेरिका सरकारले श्रीलंकाबाट आउने वस्तुहरूमा यदि फेरि ४४ प्रतिशत कर लगाउने निर्णय गर्छ भने श्रीलंकाको कुल गार्हस्थ उत्पादन (जीडीपी) १.५ प्रतिशतले घट्न सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।
अहिले श्रीलंकाबाट अमेरिका जाने सामानहरूमा १० प्रतिशत मात्र कर लाग्छ, तर जुलाई ९ पछि त्यो कर पुनः ४४ प्रतिशतमा जान सक्छ ।
आईएमएफले श्रीलंकाको कपडा उद्योगमा धेरै मुनाफा नहुने जनाएको छ, त्यसैले यति धेरै कर थपिएमा उद्योगहरू टिक्न गाह्रो हुन्छ ।
यसले निर्यात घटाउने र देशको आम्दानीमा असर पार्नेछ । यद्यपि, निर्यात घटे पनि कच्चा पदार्थ कम आयात गर्नु पर्ने, अन्तर्राष्ट्रिय बजारमा सामान सस्तो हुनु र रूपैयाँको अवमूल्यनले केही असर कम गर्न सक्ने आईएमएफले बताएको छ ।
आईएमएफले यस्तो परिस्थितिले लगानी घटाउन सक्ने, बेरोजगारी बढ्न सक्ने र सरकारले सुधार कार्यक्रम अघि बढाउन कठिनाइ भोग्न सक्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार
















