भोजपुरमा ज्वाइँले गरे श्रीमतीसहित चार जनाको सामूहिक हत्या
भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा ज्वाइँले पत्नीसहित ससुराली पक्षका चार जनाको हत्या गरेका छन् ।
भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राईले ससुराली रामप्रसाद राई–२ को धोद्लेखानी बोन्थिताङमा परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चार जनाको सामूहिक हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले बताए ।
राजेन्द्रले श्रीमती मनिषा गिरी, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६२ वर्षीय बेलबहादुर गिरि र सालो सपनको हत्या गरेका हुन् । प्रहरीका अनुसार घटनाकको जिम्मा राजेन्द्रले लिएका छन् ।
घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ । यसबारे घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार










