आज संघीय संसदका सात समितिको बैठक बस्दै
काठमाडौँ, असार २२ । आज संघीय संसदका सातवटा समितिको बैठक बस्दैछ । प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाको एक गरि सात समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१ र सुनकोशी मरित डाइभर्सन आयोजनाको बारेमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै अपराहन्न १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैत । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार










