देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न र बचाउन देशभर उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।
त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ’त्रिशूली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ ।’
उनले विपद्को समयमा आवश्यक सहयोगका लागि विपत् व्यवस्थापन विभागले तोकेका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहन पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार










