सोवितालाई सुनिताको चेतावनी – हेक्का पुर्याएर बोल्नुस्
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद सोविता गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्–‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन । राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ । तपाईँलाई भाषाको ज्ञान र परिभाषा सिकाउन पर्यो भने हामी तयार छौँ । तर हेक्का पुर्याएर बोल्नुस् ।’
उनले आफ्नो कुरा राखेर रास्वपा सांसद बाहिरिएको भन्दै आपत्ति जनाइन् ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी थिइन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले भनेकी थिइन्–‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’
उनले सांसदहरूले नेपाल भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनुनपर्ने त होइन नि ? भन्दै प्रश्न गरेकी थिइन् । ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार
















