जसपालाई प्रधानमन्त्रीले भने – समर्थन मात्र होइन, अब सरकार सञ्चालनमा पनि साथ दिनुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई संघीय सरकारमा सहभागी हुन स्पष्ट प्रस्ताव गरेका छन् । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा ओलीले उक्त प्रस्ताव राखेका हुन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालका शीर्ष नेताहरू सहभागी थिए। बैठकका क्रममा प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागिताका लागि आग्रह गर्दै, “समर्थन मात्र होइन, अब सरकार सञ्चालनमा पनि साथ दिनुस्,” भन्ने सन्देश दिएका थिए ।
यद्यपि जसपा नेपाल सरकारलाई समर्थन गरिरहेको भए पनि उनीहरू हालसम्म मन्त्रीपरिषदमा सहभागी छैनन् । केही समयअघि समर्थन फिर्ता लिने निर्णय गरेको उक्त पार्टीले त्यसको औपचारिक प्रक्रिया भने अघि बढाएको छैन।
उक्त बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादवको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार
















