एमालेमा विद्या भण्डारीको सदस्यता नै नवीकरण हुन सकेन



काठमाडौं । एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दै सदस्यता नविकरण गराइसकेकाो बताउँदै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नै नभएको पाइएको छ ।

एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने भन्दै भण्डारीको सदस्यता नविकरण नगरिएको स्रोतले बतायो ।

प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीमा यसबारे गम्भीर छलफल गरेर मात्रै निर्णय गरिने जानकारी गराएका छन् ।

उनले भने–‘राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुनः सदस्यता नवीकरण गर्ने प्रक्रियामा विधानको धारा ९ आकर्षित गरेको छ । यसमा अर्को कुनै ठोस निर्णय भएन भने नयाँ प्रक्रियाबाट पनि आउनु पर्ने हुन्छ ।’

एमालेका विधानको धारा ८ मा स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्तिबारे उल्लेख छ ।

पोलिटब्यूरो बैठकमा यी धारालाई विभिन्न कोणबाट छलफल गरिएको तर निष्कर्षमा पुग्न नसकिएकाले भण्डारीको सदस्यता नविकरण तत्कालका लागि ‘होल्ड’ गराएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली भण्डारीलाई रोक्ने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतका केही नेताहरु भण्डारीलाई भित्र्याउन आतुर छन् ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्