ओलीको प्रस्तावमाथि रावलको व्यंग्य : अब बाल्यकाल र बिरामी भएको समय पनि घटाउनू
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि तोकिएको ७० वर्षे उमेर सीमा हटाउनुपर्ने तर्कसहित आफु जेलमा बसेको समय घटाएर उमेर गणना गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन् ।
हाल मातृभूमि जागरण अभियानका संयोजक रहेका रावलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ओलीको भनाइमाथि कटाक्ष गरेका हुन् ।
उनले व्यंग्य गर्दै लेखेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?” पार्टीभित्र केही नेताहरूले उमेर सीमालाई लचिलो बनाउनुपर्ने तर्क गर्दै आएका बेला ओलीले कारावासमा बिताएको समयलाई उमेर गणनाबाट हटाउनुपर्ने जिकिर बैठकमा राखेका थिए।
२०८१ पुस १० गते एमालेबाट निष्कासित भएका रावलले अध्यक्ष ओलीमाथि तीव्र आलोचना गर्दै आएका छन् ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार
















