भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले भ्रष्टाचार गर्नेलाई ‘गाला मुसारेर’ राख्छन् : सांसद मगर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीकै संरक्षणमा देशमा भ्रष्टाचार मौलाएको गम्भीर आरोप लगाएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद आले मगरले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई प्रधानमन्त्री स्वयंले ‘गाला मुसारेर’ मन्त्रिपरिषद्मा राख्ने गरेको टिप्पणी गर्दै चर्को आक्रोश व्यक्त गरेका हुन् ।
‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्ड अब निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ,’ सांसद आलेले कटाक्ष गर्दै भने, ‘किनभने अहिले देशभरिकै दृश्य भ्रष्टाचारले ढाकिएको छ।’
उनले एकजना मन्त्रीमाथि कारबाही भएको तर अर्को मन्त्री ‘पाइपलाइन’मा रहेको भन्दै प्रश्न उठाए, ‘उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ?’
सांसद आले मगरले प्रधानमन्त्रीमाथि संकेत गर्दै भने, ‘भ्रष्टाचारमा मुछिएका मन्त्रीको केवल मुख हेर्ने होइन, माया गरेर गाला मुसार्ने शैलीमा मन्त्रिपरिषद्मा राख्नुहुन्छ। थेग्न नसकिएपछि बल्ल निलम्बन गर्नुहुन्छ।’
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार
















