३२ लाख घुस डिल प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई बर्खास्त गर्न सांसदको माग
काठमाडौं । पोखराको चर्चित लिचीबारी घोटालामा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि चौतर्फी दबाव बढिरहेको छ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले मंगलबार राष्ट्रियसभा बैठकमा मन्त्री अधिकारीलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
३२ लाख रुपैयाँको घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिइसकेको सन्दर्भ कोट्याउँदै सांसद बोहराले भने, ‘सामान्य प्रशासन मन्त्रीले राजीनामा गरिसक्नु भएको छ, तर भूमि व्यवस्था मन्त्री अझै पदमा टाँस्सिइरहनु लाजमर्दो कुरा हो ।’
बोहराले पोखरास्थित कास्की जिल्ला पार्टी कमिटीले समेत मन्त्री अधिकारीमाथि कारबाही सिफारिस गरिसकेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए। ‘अब ढिलो गर्नुको अर्थ छैन,’ उनले भने, ‘उनलाई तत्काल पदमुक्त गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।’
लिचीबारी जग्गा प्रकरणमा मन्त्री अधिकारीको संलग्नता रहेको अडियो सार्वजनिक भएपछि देशव्यापी चर्चामा आएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार
















