देश लुट्न कांग्रेस–एमालेले टेण्डर पाएको जस्तो गर्दैछन् : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले अहिलेको सरकार भ्रष्टाचार गर्नकै लागि गठबन्धन भएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरे ।

उनले भने, ‘अहिले काँग्रेस र एमालेजस्तो दुई ठूला पार्टीहरु मिलेको सरकारले देश लुट्नलाई टेण्डर पारेको जस्तो व्यवहार भइरहेको छ। अहिले कुन मन्त्रीले कति कमाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ ।’

लिङ्देनले वर्तमान सरकारका दर्जनभन्दा बढी मन्त्री भ्रष्टाचारमा संलग्न रहेको दाबी गर्दै ती सबैमाथि छानबिन हुनुपर्ने आवश्यकता औँल्याए । उनले केही कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचारको जरो नै राजनीतिक नेतृत्व भएको बताए ।

‘अब यो भ्रष्टाचारको अन्त्य केही कर्मचारीहरुलाई कारबाही गरेर हुन्न,‘उनले भने, ‘भ्रष्टाचारको जरो र छाता भनेको राजनीतिक क्षेत्र हो। जबसम्म राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याइँदैन, तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन ।’

भिजिट भिसा प्रकरणका सन्दर्भमा बोल्दै लिङ्देनले प्रमुख विपक्षी दलहरु आन्दोलनमा रहँदा पनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाए । उनले संवाद र सहकार्यका लागि सरकारलाई अग्रसर हुन आग्रह गरे ।

उनको भनाइ अनुसार देशभित्र भ्रष्टाचारबिरुद्ध लड्न अब गम्भीर राजनीतिक इच्छाशक्ति र नेतृत्व आवश्यक छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्