विमानस्थल थप्ने कुरा फेसन बन्यो : सचिव भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले विमानस्थल थप्ने कुरा फेसन बनेको बताएका छन् ।
बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका सांसद भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताए ।
अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने उनको भनाई थियो । भएकालाई व्यवस्थित बनाई विस्तार गर्न जरुरी रहेको बताउँदै उनले भने–‘५५ वटा एयरपोर्ट हाम्रोसामु छन् । अब नेपालमा कति एयरपोर्ट चाहिन्छ ? हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ । ५५ वटा एयरपोर्टमध्ये ३२ जति सञ्चालनमा होलान् । त्यही पनि सबै नियमित छैनन् ।’
भट्टराईले नीजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । उनले भने–‘फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो । राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ ।’
पूर्व पर्यटनमन्त्री समेत रहेका उनले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताए ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको क्रममा भट्टराईले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको बताए ।
१९४९ सालमा पहिलोपटक हवाई सेवा सुरु गरेको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९५९ जना मानिसको ज्यान गएको उनले बताए ।
सांसद भट्टराईले–‘यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । जाँचबुझ आयोगले निर्क्यौल गरेका दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या समाधान गर्ने यी ऐनहरू बनाइरहेका छौँ ।’
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार
















