अब मेनपावर कम्पनीबाट कोरियामा कामदार पठाइने



काठमाडौँ, साउन २३ । सरकारले अब मेनपावल कम्पनीबाटै दक्षिण कोरियामा कामदार पठाउन सकिने गरी कार्यविधि तयार पारेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई पनि दिने गरी कार्यविधि बनाएर पास गरेको हो ।

हाल वर्षमा ११ हजार बढी नेपाली कामदार इपिएस प्रणालीअन्तर्गत जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) मार्फत निकै सस्तो शुल्कमा कोरिया जाने गरेका छन् ।

जिटुजीमार्फत कोरिया जाँदा कामदारले टिकटबापत करिब ५२ हजार रूपैयाँ र ६१ अमेरिकी डलरबाहेक अरू शुल्क तिर्नुपर्दैन । तर अब मेनपावर कम्पनीमार्फत कोरिया जाँदा कामदारले ६ देखि सात लाख रुपैयाँसम्म तिर्नुपर्नेछ ।

मेनपावर कम्पनीलाई फाइदा पुग्ने गरी मन्त्रालयले कार्यविधि बनाएको आरोपसमेत लागेको छ ।

मन्त्रालयले भने इपिएस प्रणालीलाई क्षति नपुग्ने गरी कार्यविधि पास गरेको दाबी गरेको मन्त्रालयका प्रवक्ता डन्डु घिमिरेले बताए ।

मन्त्रालयका अनुसार २०७९ सालमा २२ हजार, २०८० सालमा ११ हजार र २०८१ सालमा ११ हजार नेपाली कामदार जिटुजी प्रणालीमार्फत कोरिया गएका छन्। कोरियाली सरकारले सन् २००८ बाट नेपाली कामदार लिँदै आएको छ ।

कोरियाले ई ९ र ई ७ गरी दुईवटा भिसा प्रणालीबाट कामदार लिन्छ। ई ७ भिसा प्रणाली दक्ष कामदारका लागि र ई ९ भिसा प्रणाली सामान्य कामदारका लागि हो। मन्त्रालयले पास गरेको कार्यविधिमा कम्पनी टु कम्पनीमार्फत ई ७ भिसा प्रणाली खुला गरिएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्