खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला



खोटाङ, २४ साउन । साउन शुक्ल पूर्णिमाको अवसरमा खोटाङको भुल्केमा शनिबार भव्य सांस्कृतिक मेला लागेको छ। मेला झरी र वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाँचेका छन्। 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको भुल्केमा साउन शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष साँस्कृतिक मेला लाग्ने गरेको छ। भालुखोलाको शिरमा रहेको धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा यो वर्ष पनि शनिबार भव्य सांस्कृतिक मेला लागेको हो। विशेषगरी भुल्केमा रहेको जलपादेवी भागीरथ गंगाधाममा स्नान गर्न र गुरुको पुजाआजा गर्नका लागि धामी र धामीका आफन्त भुल्के पुग्ने गरेका छन्।  

भालुखोलामा लाग्ने सांस्कृतिक मेला धामीझाँक्री नाच र गीतका लागि प्रसिद्ध छ। साउनको सुरुदेखि गुप्तबास बस्ने धामी झाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन भालुखोलाको शिरमा रहेको धारामा नुहाइधुवाई गरेपछि खुल्ने मान्यता अनुसार जिल्लाका बिभिन्न ठाउँका धामी झाँक्री साउन शुक्ल पूर्णिमाको दिन भुल्के पुग्ने गरेका छन्। ढ्यांग्रो र झ्याम्टाको तालमा धामी र उनीहरुका आफन्त ‘सै राजा सै सै, सै रानी सै सै सै सै’ बोलको गीत गाउँदै नाचगान गरेको रमिता हेर्नका लागि समेत स्थानीय मेलामा पुग्ने गरेका छन्।

जिल्लाको भुलभुले दुधकुण्ड देउधाम, साप्सुधाप लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा सांस्कृतिक मेला लागेको छ। 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्