सरकारले ओलीलाई पक्राउ गर्नु नै १०० दिने उपलब्धि ठान्यो: पद्मा अर्याल
काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले पहिला थुन्ने, अनि सुन्ने नीति लिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले सरकारले पहिला थुन्ने, अनि सुन्नेु नीति लिएको भन्दै यसलाई अधिनायकवादी शैलीको संज्ञा दिएकी हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्रीहरूलाई थुन्ने, म्याद थप्ने र केही सीप नलागेपछि छोडिदिने विषयलाई नै वर्तमान सरकारले आफ्नो सय दिनको उपलब्धि ठानेको टिप्पणी अर्यालले गरिन् ।
‘प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने योजनामा सरकार लागिपरेको छ। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउँदै माहोल तयार गर्ने र झुट्टा मुद्दामा धरपकड गर्ने काम भइरहेका छन्,’ उनले भनिन् ।
यसैगरी सरकारले गठन गरेको छानबिन आयोगको नियतमाथि प्रश्न उठाउँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै सस्तो लोकप्रियताका लागि असंवैधानिक हिसाबले आयोग गठन गरिएको दाबी गरिन् ।
यस्तै सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको जिकिर थियो।
सम्पत्ति छानबिन आयोगको प्रसंग निकाल्दै अर्यालले भनिन्- ‘आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशानको तमासा र आयोग गठनको नियत प्रष्ट देखिन्छ।’
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










