प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको निरन्तर अवरोध
काठमाडौं । आज पनि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन् ।
बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठेर अवरोध जनाएका हुन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै रास्वपा र राप्रपाका सांसदले आज पनि प्रतिनिधिसभामा विरोध जनाएका छन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए ।
खनालले लोकतान्त्रिक प्रक्रिया र नियमलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको बताए । सांसद खनालले गृहमन्त्री रमेश लेखकलाई अप्ठ्यारो पर्छ भनेर भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरिएको जिकिर गरे ।
यस्तै, सभामुख देवराज घिमिरेले राप्रपा सांसद विना लामालाई बोल्न समय दिए ।
लामाले भिजिट भिसा प्रकरणमा आफूहरूले राखेको मागलाई सरकारले बेवास्ता गरेको र त्यसलाई सघाउने काम संसद्ले गरेको आरोप लगाइन् । यस विषयमा संसदीय उच्चस्तरीय छानबिन समिति गठन नगरिएसम्म विरोध जारी रहने उनले बताइन् ।
आफ्नो भनाइपछि दुवै दलका सांसदले संसद् बैठक बहिष्कार गरे ।
दुई दलले गत जेठ १३ गतेदेखि निरन्तर विरोध जनाउँदै आएका छन् ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















