थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै



कञ्चनपुर, ३१ साउन । यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो ।

परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङको प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताउनुभयो ।

“पहिला अष्टिम्कीका अवसरमा घरको बैठक कोठामा सुन्दर र आकर्षक चित्र बनाउने हतारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “कसैले परम्परागत तरिकाले तयार गरेका रङ र कसैले बजारबाट खरिद गरेर ल्याएका रङको प्रयोग गरी चित्र बनाउनमा व्यस्त हुन्थे, विशेषगरी व्रतालु महिलाहरू चित्र बनाउने कार्यमा संलग्न हुन्थे ।”

उहाँका अनुसार कुनै गाउँमा वरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर सामूहिक रूपमा त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो ।

“अष्टिम्की पर्वका अवसरमा आजभोलि पनि पूजा हुन्छ, तर परम्परागत शैली परिवर्तन भएको छ”, शुक्लाफाँटा नगरपालिका–१० का गुरुवा हिमाली चौधरीले भन्नुभयो, “पहिलेको जस्तो चित्र बनाउन जान्ने बूढापाका गाउँमा छैनन्, युवाहरूले सीप सिक्नै मान्दैनन् । सोही कारणले बजारबाट बनिबनाइएका अधुनिक पोष्टर ल्याएर पूजा गर्ने चलन चल्न थालेको छ ।”

थारू समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीमा मानव जातीले जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलाप आकर्षक चित्रका माध्यमबाट देखाउने गरी कोर्ने परम्परा रहेको थारू सामाजिक अभियन्ता हबलदार चौधरीले जानकारी दिनुभयो । 

“ब्रह्ममुहूर्तमा दर खाएपछि घरमा रहेको ब¥ही (बैठक) कोठमा व्रतालु थारू महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोकचित्रहरू बनाउने गर्दछन्”, उहाँले भन्नुभयो, “चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रूखमा बसेका बाँदर, गड्याँैला, कछुवा, हात्ती, घोडा, गोरु, ऊट, कुखुरा, मयूर, बिच्छी, बासुकी नागलगायत जलचर र थलचर प्राणीका चित्र बनाउने गरिन्छ ।”

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्