बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।
प्रहरीका अनुसार सोमबार बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएका हुन् । प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन घाइतेको उपचार जारी छ । मृतक दुवैजनाको शव त्रिवि शिक्षण अस्पतालमै राखिएको छ र आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना सवार थिए ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार
















