मेयर साम्पाङले डाके कार्यपालिका बैठक, बजेटसहित २७ एजेन्डामा छलफल हुने
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यपालिका बैठक आह्वान गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटसहित २७ एजेन्डामा छलफल गर्न मेयर साम्पाङले आज दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको उपमहानगर स्रोतले जनाएको छ ।
यसअघि, स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सीमा निर्धारण गरेको थियो । मेयरकै अध्यक्षतामा बसेको बैठकले दुई अर्ब २० करोडको बजेट सीमा निर्धारण गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले नयाँ आर्थिक वर्षको बजेट कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्छ । त्यसपछि बजेट असार मसान्तभित्र ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
तर, धरानले मेयर र उपमेयरबीचको विवादका कारण अहिलेसम्म बजेट पाउन सकेको छैन । प्रशासनिक खर्च र एकतर्फी राजस्व उठाउने कामबाहेक अन्य आर्थिक गतिविधि ठप्प छन् ।
प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार
















