आज १८औँ पुस्तकालय दिवस मनाईंदै
काठमाडौं । ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ भन्ने नारासहित आज १८औं पुस्तकालय दिवस, देशभर मनाईंदैछ ।
दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यो वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।
पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिनेछ ।
नेपाल सरकारले २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस तय गरिएको हो ।
प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार












