श्रीमतीको हत्या गरेर भान्सामै गाडे शव, श्रीमान् पक्राउ
अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ।
जिल्लाको छत्रदेव गाउँपालिका–४ का ३६ वर्षीय किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए।
छोरी हराएगछि माइती पक्षले खोजी गरिदिन भन्दै १६ भदौमा प्रहरी चौकी बाल्कोटमा जानकारी गराएका थिए ।जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो।
भदौ १२ गते श्रीमान्–श्रीमती घरायसी विवाद भएपछि सोही रात किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको खुलेको छ ।
किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ ।
घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन्। पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन्।
सुमित्राको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ।
प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार
















