अनुदानको दुई सय बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ
काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको दुई सय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् ।
चौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो ।
सर्वदलीय छलफलपछि मल वडा नं. १ देखि ७ सम्मका किसानलाई वितरण थालिएको छ । प्रत्येक बोराको मूल्य १ हजार रुपैयाँ तोकिएको छ भने उठेको रकम राजस्व खातामा जम्मा गरिने भएको छ ।
प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार
















