बाल मन्दिरको जग्गा र कोष दुरुपयोग आरोपमा ८ जनाविरुद्ध ठगी मुद्दा



काठमाडौं । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीविरुद्ध ठगी मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुनेमा तत्कालीन योजना प्रमुख तथा हाल काठमाडौं महानगरपालिका–११ की वडा सदस्य आशा श्रेष्ठ, काठमाडौं जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, युरीकुमारी राई, कोषाध्यक्ष दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, सभापति भगवान शाक्य र सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध ठगी मुद्दा दायर गरिएको छ।

उनीहरूमध्ये आशा, राजेन्द्रकुमार र ओमकृष्ण मात्रै पक्राउ परेका छन् भने बाँकी पाँच जना फरार प्रतिवादीका रूपमा मुद्दामा समावेश छन्।

अनुसन्धानअनुसार नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धाबिना भाडामा दिई ७५ लाख रुपैयाँ लिएको, बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट व्यक्तिगत उपचार, किरिया खर्च र सवारी साधन खरिदमा रकम खर्च गरिएको पाइएको छ।

साथै, आशा श्रेष्ठले सार्वजनिक पदमा निर्वाचित भएपछि पनि नियमविपरीत बाल मन्दिरबाट मासिक ‘परिवहन भत्ता’ लिएको आरोपसमेत लगाइएको छ।

उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो ।

गत चैतमा मात्रै यो प्रतिवेदन कार्यान्वय गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो । त्यसपछि सीआईबीले यसको अनुसन्धान अघि बढाएर मुद्दा चलाएको हो ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार