अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए
काठमाडौं । अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
जिल्लाको तुर्माखाँद गाउँपालिका–६, रानीबनको जङ्गलमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले भने- ‘दुई किशोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्, हामी घटनास्थलमा जाँदै छौँ।’
उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहे पनि सुरक्षाकर्मी र स्थानीय प्रशासन घटनास्थलतर्फ गएको जनाइएको छ ।
प्रारम्भिक रूपमा आत्महत्या हुन सक्ने आशंका गरिए पनि सबै पक्ष खुल्न बाँकी रहेको जनाइएको छ ।
प्रहरीका अनुसार किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ। उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए ।
स्थानीय बासिन्दाले जङ्गलतर्फ गएका बेला एकै रुखमा दुई जना किशोरी झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार
















