१० दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज कति ?
काठमाडौं । विगत १० दिन देखि लगातार बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।
बुधबार प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भदौ ९ गते प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य त्यसयता लगातार बढिरहेको थियो । तर आज भने मूल्य स्थितर भएको हो । भदौ १० गते मंगलबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेर तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै भदौ ११ गते बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेर तोलाको एक लाख ९९ हजार रुपैयाँ पुगेको थियो भने भदौ १२ गते विहिबार प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी भदौ १३ गते शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बन्यो । उक्त दिन सुनको मुल्य दुई लाख नाघ्यो । तोलामा १ हजार २ सयले बढेर शुक्रबार सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको थियो ।
दिन दिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले भदौ १५ गते आइतबार पनि बढ्यो । आइतबार तोलामा ३ हजार रुपैयाँ बढेको सुनको मूल्य भदौ १६ गते सोमबार ७ सय रुपैयाँले बढेर २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै भदौ १७ गते मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनायो । उक्त दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य भदौ १८ गते बुधबार २ हजार रुपैयाँ बढेर २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार
















