प्रहरीका ४ कार्यालय निमित्तको भरमा, कहिले हुन्छ एआईजीको बढुवा ?



काठमाडौं । नेपाल प्रहरीका चार महत्वपूर्ण कार्यालय निमित्तको भरमा पुगेका छन् । एक एआईजीको आईजीपीमा बढुवा र तीन एआईजीको अवकाशसँगै चार कार्यालय निमित्तको कमाण्डमा पुगेका हुन् ।

उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठान र प्रशासन विभाग निमित्त प्रमुखको कमाण्डमा छन् ।

उपत्यका प्रहरीमा डीआईजी ओम राना, सिआइबीमा गोविन्द थपलिया, एकेडेमीमा दिपेन्द्र जिसी र प्रशासन विभागमा सुशीलसिंह राठौर निमित्त भएका छन्।

प्रहरीमा अन्य चार एआईजी दुई महिनापछि रिक्त हुने आइजिपीको दौडमा रहेकाले उनीहरुको ठूलो ध्यान सरुवामा छैन । एआइजी दानबहादुर कार्की हाल मानवस्रोत विकास विभाग, राजन अधिकारी अपराध अनुसन्धान विभाग, मनोज केसी प्रदेश समन्वय विभाग तथा शिद्धिबिक्रम शाह कार्य विभागको प्रमुखमा छन् ।

एआइजीका अन्य चार पद रिक्त छन् । जसमा नौ डीआईजीबिच बढुवाको प्रतिस्पर्धा छ । दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र भट्ट, गोविन्द थपलिया, अरुण पौडेल, सुशीलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बर विकबिच प्रतिस्पर्धा छ ।

एआईजी बढुवामा सत्तारुढ दलबिच भागबन्डा हुने भएकाले केही समय लाग्ने अवस्था छ । महत्वपूर्ण विभाग निमित्तको भरमा चलाउदा समस्या आउन सक्ने भएकाले अहिलेका सिनियर एआईजीलाई रिक्त रहेका कार्यालयमा पठाउने रणनीति सरकारको छ । सिनियर एआईजीहरु सिआइबी र उपत्यकाको जानका लागि रुचाउने गरेका छन्।

सिआइबीमा पछिल्लो समय आर्थिक अपराध अनुसन्धानका नाममा अनेक धन्दा चलिरहेकाले त्यहाँ गृह मन्त्रालयले आफु अनुकुल एआईजी पठाउने प्रचलन बढेको छ।

प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्