दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, पाँच जना पक्राउ
दाङ। दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका-५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर-६ गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहीबार तुलसीपुर-६ को महेन्द्र मावि पछाडिको चौरमा खसी कप फुटबल प्रतियोगिता भएको थियो ।
श्री सेन्टर माविका विद्यार्थीले फुटबल खेल्ने क्रममा विनोद विक र वसन्त परियारबीच आपसमा झगडा भएको थियो । सोहि विवादलाई लिएर वसन्त परियार समूहका मान्छेले राति साढे १० बजेतिर स्याउलीबजार स्थित बाटोमा अर्को समूहका व्यक्तिलाई खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट आयुष विक, विनोद विक, प्रवेश योगी घाइते भएका छन् । उनिहरुको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार भएको छ । पक्राउ परेकाहरुमाथि थप कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार
















