जेनजी आन्दोलनमा ज्यान गुमाएका बिनोद महर्जनका परिवारलाई १५ लाख सहयोग हस्तान्तरण
काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी स्व. बिनोद महर्जनका परिवारलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गरेको छ ।
ललितपुर प्रजिअ सुमन घिमिरेले वडा अध्यक्षको रोहबरमा मृतकका आमा लतामाया महर्जनलाई उनीहरूको घरमै पुगेर आइतबार उक्त रकमको बैंक चेक हस्तान्तरण गरेका हुन् ।
सरकारले उपलब्ध गराएको उक्त रकममध्ये १० लाख आर्थिक सहायता र ५ लाख क्रिया तथा अन्य खर्च शीर्षकमा उपलब्ध गराउने निर्णय गरेको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाउने अन्य मृतकका परिवारलाई समेत सरकारले आवश्यक प्रक्रिया अनुसार राहत र सहायता उपलब्ध गराउने जनाएको छ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार
















