जेनजी सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा



काठमाडौं । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत् उक्त घोषणा गरेका हुन् ।

चौधरीले लेखेका छन्, ‘जेनजी आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढिरहेका छौँ।’

उनका अनुसार, सीजीले सहिद परिवारको पीडा बाँड्ने र पुनःउत्थानमा साथ दिने प्रतीकका रूपमा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्वाण चौधरीले थप बताएका छन्, ‘देशका युवाप्रति हाम्रो आस्था र भरोसा अटुट छ। असहमतिका बीच पनि सहअस्तित्व र सहभावनाको संस्कृतिले नै हामीलाई अगाडि बढाउँछ।’

चौधरी ग्रुपले हालैका घटनाबाट भएका क्षतिलाई पुनःनिर्माण र सामाजिक उत्तरदायित्वमार्फत सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्