मुकुल ढकालले दिए अहिलेको सरकार गठन गर्नेहरु विदेशी एजेन्ट हुन् भन्ने ८ प्रमाण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले वर्तमान अन्तरिम सरकार विदेशी शक्तिहरूको योजनाअन्तर्गत गठन भएको गम्भीर आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकार गठनदेखि लिएर सिंहदरबारमा भएको आगजनीसम्मका घटनाहरू कुनै सामान्य संयोग नभई, नियोजित विदेशी हस्तक्षेपको श्रृंखला भएको दाबी गरेका हुन् ।

ढकालका अनुसार, पछिल्ला घटनाक्रमहरू — सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी, आन्दोलनमा ‘Tibetan Original Blood’ लेखिएका व्यक्तिहरूको सहभागिता, र दलाइ लामासँग जोडिएका बधाई सन्देशहरू — सबैले सरकारको निर्माणमा विदेशी संलग्नता स्पष्ट पार्छ।

उनले प्रश्न उठाएका छन्- ‘कसरी विदेशी शक्तिसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिहरू मात्रै मन्त्री, सल्लाहकार वा बालुवाटार(सिंहदरबार परिसरमा सक्रिय छन् ?’

ढकालले यो पनि आरोप लगाए कि सरकार पक्षधर धेरैजसो व्यक्ति विदेशी गैरसरकारी संस्थासँग आबद्ध छन् वा विदेशी छात्रवृत्ति र सुविधाबाट लाभान्वित छन्, जसले सत्ताको संरचना बाह्य स्वार्थअनुसार चलिरहेको सङ्केत गर्छ ।

उनका अनुसार, पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा ‘साइबर सेना’को तयारी र नियन्त्रण पनि नियोजित विदेशी रणनीतिअन्तर्गत भएको हो। ‘राजनीतिक उदय र नेतृत्व चयन प्राकृतिक प्रक्रिया होइन, नियोजित हस्तक्षेपको नतिजा हो,’ ढकालले भने ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्