नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन कर प्रशासन पारदर्शी र प्रभावकारी हुनुपर्ने : अर्थमन्त्री वाग्ले



काठमाडौँ, ७ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिने उनको विश्वास छ।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले पनि गम्भीरतापूर्वक हेर्नुपर्ने बताए।

उनले कर प्रशासकहरूको वृत्तिविकास, कार्यसम्पादन र राज्यलाई पुर्‍याएको योगदानका आधारमा मूल्याङ्कन गरिने उल्लेख गरे। कर सङ्कलनका नाममा करदातालाई त्रसित बनाउनेभन्दा स्वेच्छिक कर अनुपालनमार्फत करको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

कर प्रशासनलाई थप चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिमा कुनै समस्या भए खुला रूपमा जानकारी गराउन पनि उनले आग्रह गरे। राज्यलाई लाभ पुर्‍याउने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई अर्थतन्त्रको दीर्घकालीन दिशासँग जोडेर हेर्न आग्रह गर्दै आगामी चार आर्थिक वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न खोजेको आर्थिक आधारशिला स्पष्ट हुने बताए।

बजेटमा समावेश कर छुटका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना विस्तार गर्न तथा कारोबारलाई डिजिटल बनाउन आवश्यक पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार