हायात होटल आगजनी र तोडफोड गर्नेहरूमाथि अनुसन्धान गर्न प्रहरीमा जाहेरी
काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित पाँचतारे होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ । होटलले जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
भदौ २४ मा आक्रोशित समूहले होटल हायातमा तोडफोड र आगजनी गरेका थिए । होटलमा लुटपाट समेत भएको प्रहरीमा बुझाइएको जाहेरीमा उल्लेख छ । प्रदर्शनकारीले आगजनी गरेपछि भाग्ने क्रममा होटलमा बस्ने एकजना भारतीय महिला पर्यटकको पनि मृत्यु भएको थियो ।
प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट करिब ५४ करोड क्षति भएको होटल सञ्चालकले दाबी गरेका छन् । होटल सञ्चालकले आगजनी र लुटमा संलग्नहरूबारे अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
जेनजी प्रदर्शनमा भएको आगजनी र तोडफोडबारे अनुसन्धान गर्न सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र महान्यायाधिवक्ताको कार्यालयले पनि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका छन् । एसएसपी थापाले भने, ‘जाहेरी आइरहेको छ, अराजक गतिविधिमा संलग्नहरूमाथि हामीले अनुसन्धान गरिरहेका छौँ ।’
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार
















