नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो ।
राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए । यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए ।
दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए ।
युएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिए । नेपाल पहिलो जितको लक्ष्यमा छ।
यसअघि नेपालले अमेरिकासँग १०६ रन र चार विकेट तथा युएईसँग पाँच विकेटको हार बेहोरेको थियो।
अमेरिकासँगका दुई खेलमा हार भोगेको नेपाल आज यूएई लाई दोस्रोपटक हराउँदै २ अंक थप्ने रणनीतिमा हुनेछ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार
















