नियोजित सूचनाको भ्रममा नपर्न विद्युत प्राधिकरणको अनुरोध
काठमाडौँ, २२ कात्तिक। नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बदनाम गराउन नियोजित रुपमा सूचना तथा समाचार सम्प्रेषण गरिएको भन्दै यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ ।
शनिबार विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरणले हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताका विषयमा भ्रममा नपर्न अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘ आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताको वास्तविकतालाई तोडमोड गरी केही सञ्चारमाध्यममा नियोजित रुपमा सम्प्रेषित समाचार र त्यसलाई लिएर विभिन्न सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्राधिकरणले सुख्खायाममा विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्थालाईसमेत स्वीकार गरेको छ । ‘नेपालको राष्ट्रिय विद्युत प्रणालीमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बाहुल्यता रहेकाले वर्षायाममा खपत भएर बढी भएको विद्युत निर्यात गर्ने गरिएको तथा सुख्खायाममा केही महिना विद्युत माग व्यवस्थापनका लागि छिमेकी मुलुक भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ। गतवर्ष २ अर्व ३८ करोड युनिट विद्युत निर्यात गरिएको थियो भने १ अर्ब ६८ करोड युनिट विद्युत भारतबाट आयात गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार
















