कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
धनगढी । कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिएको हो ।
जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटातुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुर बस्ने ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन् ।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार












