सेनामा जागिर खुल्यो, सरसाईकर्मीदेखि चर्मकर्मीसम्म माग्यो
काठमाडौं, कात्तिक २८ । नेपाली सेनाले ३६ सय जनाका लागि दरखास्त आह्वान गरेको छ ।
जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना लगायत विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको छ ।
सबैभन्दा बढी सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ ।
त्यस्तै विभिन्न संख्यामा ब.का.सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ ।
इच्छुक एवम् योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार
















